पाकिस्तानसँगको खुनी सीमा विवादमा त कुनै तेस्रो देशको मध्यस्थता नरुचाउने भारतले नेपालसँगको मामिलामा बेलायतको हस्तक्षेप के स्वीकार्ला ! फेरि, नेपाल र भारत बीचको सीमा विवाद बेलायतसँग संबंधित पनि छैन । सन् १९४६-४७ तिर भारतबाट अंग्रेज छोडेर जाने बेला त नेपालको कब्जा गरिएका भूभाग फिर्ता दिन प्रस्ताव गरेकै हो क्यारे, तत्कालीन नेपाली शासक राणाले नै “फ्याँकेको थुक चाट्दिनँ” भनेर स्वाङ् पारेको हामीले इतिहासमा पढेकै हो । नेपाल – भारत सीमा विवाद त्यतिबेलाको हुँदा पनि होइन । यो समस्या सन् १९६० तिर भारत – चीन युद्धको बेलादेखि सिर्जित भएको हो । त्यसैले बेलायतको यसमा कुनै दाल गल्दैन । यो समस्या समाधानको लागि नेपालमै दृढ ईच्चाशक्ति, स्पष्ट नीति र चतुर कुटनीतिको आवश्यकता पर्छ । बेलाबेला मतदातालाई रिझाउन देखाइने खोक्रो राष्ट्रवाद र चापलुसी गरेर यो समस्या समाधान हुँदैन, यो सत्तारोहनको एउटा सजिलो भर्याङ मात्र भइरहनेछ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कुटनीतिलाई धेरै कमजोर बनाएको छ । दुनियाँको नजरमा नेपाल छिमेकीको सीमा मिच्ने साबित भएको छ । किनकि प्रधानमन्त्री स्वयंले सार्वभौम संसदमा उभिएर हुँदै नभएको आरोप स्वीकारेका छन् कि नेपालले धेरै ठाउँमा भारतको जग्गा मिचेको छ । सीमावर्ती नेपाली जनताले दशगजा क्षेत्रमा घरगोठ बनाएका वा खेतीपाती गरेका होलान्, त्यस्तै भारतीय जनताले पनि उपभोग गरेका होलान् । कतिपय ठाउँमा त वर्षौंदेखि नेपालीको नम्बरी जग्गा पनि पुनः सीमा नापजोख निर्धारण गर्दा भारतमा परेको छ तथापि जनस्तर समझदारीमा उक्त जग्गा जसले उपभोग गर्ने गरेका थिए तिनैले गर्दै आएका छन् । तर ती घटनाहरू अतिक्रमण होइनन् । त्यसलाई नेपाल (राज्यपक्ष) बाट गरिएको अतिक्रमणमा पर्दैनन् । तर प्रधानमन्त्रीको अभिव्यक्ति फरक छ । प्रधानमन्त्रीले “नेपाल” अर्थात् रज्यपक्षले भारतको जग्गा मिचेको भनेका हुन् । यो अभिव्यक्तिको आधिकारिकता हुन्छ र यही आधिकारिक स्वीकारोक्तिले नेपाललाई कमजोर बनाएको छ । जबकि भारतको तर्फबाट प्रधानमन्त्रीको कुरै छोड्नुस्, कुनै मन्त्री, सचिव स्तरका कर्मचारी वा राजदूत समेतले कहिल्यै भारतले नेपालको जग्गा मिचेको अभिव्यक्ति दिएका छैनन् । सीमा क्षेत्रका दुई देशकै जनता कोई दशगजा भन्दा यताउता बसोबास गरेका वा भोगचलन गरिरहेकालाई आधिकारिक सीमा अतिक्रमण भन्न मिल्दैन किनकि त्यहाँ कुनै पक्षको राज्यस्तरीय उपस्थिति छैन । त्यस्तो मामिलालाई नेपालले अथवा भारतले एक अर्काको जग्गा मिचेको भन्न मिल्दैन । आधिकारिक अतिक्रमण मुख्य रुपमा लिपुलेक-लिम्पियाधुरा-कालापानीमा हो, जहाँ भारतको सैन्य वा प्रशाससनिक उपस्थिति छ । सुस्तामा पनि केही हदसम्म आधिकारिक भारतीय हस्तक्षेप छ । यस किसिमको अतिक्रमण नेपालको तर्फबाट कहिँ कतै भएको प्रमाण छैन । यस्तो नभए तापनि प्रधानमन्त्रीले नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ भनेर कसरी भन्नुभयो यो गम्भीर एवम् रहस्यमय छ । तर बिडम्बना के पनि छ भने प्रमका आसेपासे र उनका पार्टीका सम्पूर्ण सन्यन्त्र अहिले नेपालले पनि भारतको जग्गा मिचेको कुरालाई साबित गर्नको लागि सीमावर्ती जनताका घर आँगन खेतबारीका तस्वीरहरू सामाजिक संजालमा पोस्ट गर्दै भारतीयलाई पनि नेपाली भन्दै नेपाललाई गलत, बदमास र अतिक्रमणकारी साबित गर्न लागि परेका देखिन्छन् । पूर्वमन्त्री र रास्वपा सांसद बब्लु गुप्ता यस कार्यमा झन् अगाडि देखिए । के यी हर्कतहरू राष्ट्र बिरोधि होइनन् ? यस्ता हर्कत गर्न कुनै पनि नेपालीलाई शोभा दिन्छ ? के यी हर्कतहरूले नेपाललाई नैतिक रुपमा कमजोर बनाउँदैन ? सच्चा नेपाली भएर सोच्नुहोस् ।
नेपाल -भारत सीमा बिवाद र बेलायती मध्यस्थता