धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयको सहयात्रा एवम् डा. राम – सि.एन. खड्गा

दुई दशकभन्दा बढीको काठमाडौं विश्वविद्यालयको संलग्नतामा धुलिखेल अस्पताल आत्मिक रुपमा काठमाडौं विश्वविद्यालयसँग एकाकार भएको मैले खासै देखिनँ, जति रह्यो त्यो प्रायः स्वार्थपूर्ण सम्बन्ध नै देखियो ।

का.वि. स्कुल अफ मेडिकल साइन्सेजको वेबसाईटमा स्कूलको स्थापना भएको विवरणमा लेखिएको भाषा प्रति शुरुमै मेरो चित्त बुझेको थिएन । त्यो भाषाले नै धुलिखेल अस्पताललाई विश्वविद्यालयको बराबरको साझेदार देखाउँदो रहेछ । यसबारे वरिष्ठ सहकर्मीहरूसँग जिज्ञासा राख्दा पनि चित्तबुझ्दो जवाफ पाइएन, बरु हो, यस्तै हो भन्ने खालको उत्तर पाएपछि चुप लाग्नुपर्यो ।

अस्पतालले लाभ लिने मामिलामा विश्वविद्यालयलाई सोध्ने अन्यथा मतलब नै नगर्ने हेपाहा खालको प्रवृति प्रा.डा. सुरेश राज शर्मा सरकै उपकुलपतित्व कालमै अनुभूत भइसकेको हो । पछि प्रा.डा. रामकन्ठ मकाजु श्रेष्ठको ८ वर्षे उपकुलपतित्व कालमा भने विश्वविद्यालयका सभा समारोहहरूमा अस्पताल प्रायः हावी रहन्थ्यो । प्रा.डा. भोला थापा सरको उपकुलपतित्व कालमा अस्पतालको वर्चस्व नरहेपछि अस्पतालले गोप्य रुपमा छुट्टै विश्वविद्यालय बन्ने बाटो रोजेपश्चात् अस्पतालको नियत प्रष्ट भयो र विभिन्न विषय र किसिमका विवादहरू छताछुल्ल भयो ।

भोला सरले पनि धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय बीच प्रारम्भिक सम्झौता भएपश्चात् थपिएका अस्पतालको जायजेथा माथि विश्वविद्यालयकै स्वामित्व हुनुपर्ने दाबी गर्नुभएपछि अस्पताल प्रशासन थोरै हच्केका थिए तर विवाद कायमै थियो ।

गत वर्ष प्रा.डा. अच्युत प्रसाद वाग्ले सर उपकुलपति बनेपछि तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूले अस्पतालसँगको विवाद मिलाइ पुनः एकजुट पार्ने उद्देश्यले प्रा.डा. राजीव श्रेष्ठलाई रजिस्ट्रार नियुक्त गर्नुभयो । तर वर्तमान सरकारले अध्यादेश मार्फत् सबै पदाधिकारीहरू बर्खास्त गरेपछि उपकुलपति र रजिस्ट्रार नियुक्तिमा कतै पनि अस्पतालले भाग पाएन र नवनियुक्त उपकुलपति र रजिस्ट्रारबाट सायद कुनै फेभर मिल्ला भन्ने सम्भावना पनि देखेन । त्यसकै परिणाम स्वरुप अस्पतालको यो भवनमा धातु अक्षरमा लेखिएको नामबाट “काठमाडौं विश्वविद्यालय अस्पताल” हटाइदिएको हो । कुनै एउटा पद भाग अस्पताल पक्षले पनि पाएको भए यस्तो हुन्थ्येन ।

डा. राम र धुलिखेल अस्पताल :

यहाँ के बुझ्नुपर्छ भने “अस्पताल” वा “धुलिखेल अस्पताल” भनेको डा. राम नै हो । डा. राम महत्वाकांक्षी प्रवृतिका धनी हुनुहुन्छ । एउटा नेतृत्व महत्वाकांक्षी हुनु पनि पर्छ, नत्र संस्थाको विकास हुँदैन, स्थिर भएर जान्छ ।

डा. राम दुई कार्यकाल का.वि. को उपकुलपति भएर उमेरको हिसावले विश्वविद्यालय सेवाबाट सेवानिवृत हुनुभयो तर शारीरिक र मानसिक रुपमा अझ कमसेकम १०-१५ वर्ष सेवा गर्ने उर्जा र हुटहुटी उनमा बाँकी छ । तर तेस्रो कार्यकालको प्रतिस्पर्धामा भोला सरले विस्थापित गरिदिएपछि उनका छट्पटी हुनु स्वाभाविक थियो । यस कुरालाई चुनौतीको रुपमा लिएर केही नयाँ सिर्जना गर्ने योजना उनका महत्वाकांक्षी मनमा आएको हुनुपर्छ ।

धुलिखेल अस्पतालको बिलगन :

केही नयाँ त गर्ने तर के गर्ने ? जे गरे पनि विश्वविद्यालय स्तरकै गर्नुपर्यो किनभने चुनौती (काठमाडौं) विश्वविद्यालय नेतृत्वको छ तर काठमाडौं विश्वविद्यालय जस्तै अर्को बहुआयामिक विश्वविद्यालय खोल्न सहज थिएन । त्यही बेला बागमती प्रदेश सरकारले प्रदेश स्तरीय विशिष्टिकृत विश्वविद्यालय खोल्नको लागि ईच्छापत्र आह्वान गरेको थाहा पाएपछि डा. रामको ईच्छा पूरा हुने आशा जाग्यो र उनले धुलिखेल अस्पताललाई का.वि. सँग छुटाएर छुट्टै चिकित्सा विश्वविद्यालय खोल्न आवेदन गरिदिहाले । धुलिखेल अस्पताल छुट्टिने कुरा त्यहीँबाट सतहमा आयो ।

डा. रामलाई तेस्रो चौथोपटक पनि उपकुलपति बन्न दिएको भए अस्पताल विश्वविद्यालयसँग छुट्टिन्थ्येन, सहकार्य निरन्तर जारी रहन्थ्यो । अहिले पनि सहयात्रा सम्भव छ तर त्यसको लागि उपकुलपति र रजिस्ट्रार मध्ये एक पद अस्पताल पक्षलाई दिनुपर्छ । त्यो भागबन्डा नगर्ने हो भने नामै झारिदियो, ल जा !!

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*