आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सर्वाधिक उपयोगकर्ता मध्ये एक प्रमुख राष्ट्र चीनले एआई कम्प्यानियन वा भर्चुअल साथी सेवाहरूमा प्रतिबन्ध लगाएको छ ।
यसबाट के देखाउँछ भने एआईले नाबालिग युवावर्गको भावनात्मक शोषण गर्दै उनको भविष्य बिगार्ने प्रति चीन सजग भैरहेको छ ।
जुलाई १५ देखि कार्यान्वयनमा आएको नयाँ नियमावलीले मानिस र प्रविधिबीचको भावनात्मक सम्बन्धलाई कानुनी रूपमै नियमन गर्ने प्रयास गरेको छ ।
चीनको साइबर स्पेस प्रशासन (क्याक) र अन्य निकायले जारी गरेको ‘इन्टरिम मेजर्स फर द एड्मिनिस्ट्रेसन अफ ह्युमन-लाइक इन्टर्याक्टिभ सर्भिसेज बेस्ड अन आर्टिफिसियल इन्टेलिजेन्स’ नियमावलीले भर्चुअल पार्टनर सेवामा प्रतिबन्ध लगाएको हो । यो नियम लागू भएसँगै चीनका ठूला प्रविधि कम्पनीले आफ्ना लोकप्रिय एआई कम्प्यानियन सेवा बन्द गरेका छन् ।
त्यसरी सेवा बन्द गर्नेमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स, ई-कमर्स क्षेत्रको ठूलो कम्पनी अलिबाबा र सामाजिक सञ्जाल एप विच्याटको सञ्चालक टेन्सेन्ट रहेका छन् । यी कम्पनीले आफ्ना प्लाटफर्मबाट प्रयोगकर्तालाई मनपर्ने गायक, एनिमेटेड चरित्र वा प्रेमीका रूपमा एआई एजेन्ट बनाउन दिने फिचर हटाएका छन् ।
चीनले यस नियममार्फत विशेषगरी नाबालक र किशोरकिशोरीलाई भर्चुअल मित्र वा प्रेमीजस्ता एआई सेवा प्रदान गर्न पूर्ण रूपमा रोक लगाएको हो । प्रयोगकर्तालाई मानसिक रूपमा परनिर्भर बनाउने र भावनात्मक शोषण गर्ने वा अनपेक्षित निर्णय लिन बाध्य पार्ने खालका एआई कन्टेन्ट उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ । साथै, एआई कम्पनीहरूले प्रयोगकर्तालाई उनीहरू एआईसँग कुराकानी गरिरहेका छन् भन्ने कुरा प्रत्येक दुई घण्टामा स्मरण गराउनु पर्नेछ ।
कार्यालयहरूको कस्टमर केयर, प्रश्न-उत्तर, वर्क असिस्टेन्ट, शैक्षिक र वैज्ञानिक अनुसन्धानमूलक एआईहरूमा भने यो नियम लागू नहुने स्पष्ट पारिएको छ । ‘मानवरूपी अन्तरक्रियात्मक सेवा प्रदायकहरूले नाबालिगहरूलाई भर्चुअल आफन्त वा भर्चुअल पार्टनरजस्ता सेवा प्रदान गर्नु हुँदैन,’ नियमावलीको धारा १४ मा भनिएको छ, ‘सेवा प्रदायकले १४ वर्षमुनिका नाबालिगलाई अन्य मानवरूपी अन्तरक्रियात्मक सेवा प्रदान गर्छन् भने उनीहरूले नाबालिगका आमाबुबा वा अन्य अभिभावकको स्वीकृति लिनुपर्नेछ ।’
चीन त नाबालिग तथा युवाहरूको भविष्य प्रति सजग भयो, नेपाल कहिले सजग हुने ?
#AI #ArtificialIntelligence #youth #teenage #EmotionalExploitation #VertualFriendship #China
Leave a Reply