सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिँदै प्रेस स्वतन्त्रता र वैयक्तिक गोपनीयताको हक बीचको कानूनी सीमालाई स्पष्ट रूपमा परिभाषित गरिदिएको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार जारी गरेको सङ्क्षिप्त आदेशले वैयक्तिक गोपनीयताको नाममा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने निस्कर्ष प्रस्तुत गरेको हो ।
किशोर श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले सत्तारुढ दल रास्वपाका एक विवाहित सांसद अमरप्रताप चौधरीले एक युवती दिपिका सिंहसँग चुम्बन गरिरहेको तस्विर र समाचार प्रकाशित गरेको थियो ।
युवतीले आफ्नो गोपनीयताको हक उल्लङ्घन भएको भन्दै प्रहरीमा श्रेष्ठविरुद्ध जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा श्रेष्ठ गत साउन २५ गते पक्राउ परेका थिए ।
श्रेष्ठका वकिलहरूले जाहेरवाला युवतीले नै आफ्नो फेसबुकमा उक्त तस्बिर पोस्ट गरेको प्रमाण अदालतमा पेश गरेका छन् । फेसबुकमा सार्वजनिक तस्बिर मिडियाले प्रकाशित गर्दा वैयक्तिक गोपनीयता आकर्षित नहुने तर्क उनीहरूले गरेका थिए ।
अदालतले यसलाई सदर गरेको छ । अर्थात, तस्बिर जाहेरवालाकै फेसबुकमा पोस्ट भएको पुष्ट्याइँ अदालतले गरिदिएको हो ।
आदेशमा भनिएको छ, ‘जाहेरी दरखास्तमा उल्लेखित तस्बिर जाहेरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको भन्ने देखिएकोमा उक्त तथ्यलाई विपक्षीले लिखित जवाफमा अन्यथा खण्डन गर्न सकेको देखिएन ।’
व्यक्तिले आफैँ सार्वजनिक स्थल (फेसबुक) मा राखेको सामग्रीलाई सञ्चार माध्यमले साभार गर्दा त्यसलाई मात्रै आधार बनाएर फौजदारी कसुरको रूप दिँदै सम्पादक वा प्रकाशकलाई थुनामा राखिरहनु न्यायसङ्गत नहुने निष्कर्ष अदालतले निकालेको हो ।
अदालतको यो आदेशसँगै ६ दिनको हिरासतबाट श्रेष्ठ रिहा भएका छन् ।
Leave a Reply