भोटेकोशीको बाढीमा परेका रसुवाका भन्सार अधिकृत तिलक पराजुली के भन्छन्

भोटेकोशीको बाढीमा परेका रसुवा भन्सार कार्यालयका अधिकृत #तिलक_पराजुली रसुवा भन्सार कार्यालयमा डेढ महिना अघि मात्रै आएका थिए । बाढीमा परेर बाँच्न सफल उनको कारुणिक भनाई यस्रो छ, एकछिन पढौं ।

कार्यालयमा करारसहित ३५ जना कर्मचारी थियौं । हामी नियमित रूपमा मर्निङ वाकमा जाने गर्थ्यौं । बाढी आएको बुधबार पनि मर्निङवाक गरेर फर्किएका थियौं । त्यस दिन मसँगै मर्निङ वाकमा जानेमा #हरिखड्का पनि हुनुहुन्थ्यो, जो अहिले बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । म त्यसपछि कार्यालय जानका लागि तयार भएँ । सँगै कार्यालय जाने भएकाले हरि खड्कालाई कुरिरहेको थिएँ ।

तेस्रो तलामा बसेर उहाँलाई कुरिरहेका बेला कसैले ‘भूकम्प आयो’ भनेको सुनियो । त्यतिबेला बाढी आउँछ भन्ने कल्पनासमेत गरेका थिएनौं । एक्कासि ठूलो आवाजसहित मुस्लो आयो । सुरुमा प’हिरो गएको होला भन्ने लाग्यो। मानिसहरू आत्तिएर यताउता भाग्न थाले । हरि सर र म पनि बच्नका लागि कुदयौं । उहाँ कोठाबाट तलतिर झर्नुभयो भने म अर्को कोठामा छिर्न खोजें । त्यति बेलासम्म ढुंगासहितको बाढीको लेदो हामी भएको ठाउँसम्म आइपुगिसकेको थियो। लेदोले कोठा भरिन पाँच सेकेन्ड पनि लागेको थिएन होला । ‘भूकम्प आयो’ भन्ने सुनेको दुई मिनेट पनि नहुँदै बाढी आइसकेको थियो । झ्यालबाट लेदो छिरेर कोठा भरिएपछि केही देख्न सक्ने अवस्था रहेन । दुई जना अरू साथीसँग हात समातेर बसिरहेका थियौं । पाउदेखि शीरसम्म बाढीले पुर्‍यो । श्वास नै ब’न्द भएजस्तो भयो । अब जीवन यति नै रहेछ भन्ने लागिसकेको थियो । अत्यन्त शक्तिका साथ आएको भेलले भित्तासमेत फुटायो । हामी तीन जनालाई बा’ढीले भुमरीमा हुत्याइदियो । त्यही भुमरीमा म घुमिरहें । बाँच्न सकिन्न होला भन्ने लागे पनि प्रयास गर्नुपर्छ भन्ने सोच आयो । टाउको जोगाउन निकै प्रयास गरें। कहिले होस, कहिले बेहोस हुँदै थिएँ । त्यतिबेला भगवानसंग एउटै प्रार्थना गरिरहेको थिएँ ‘भगवान्, मेरो सानो बच्चा छ, उसको लागि भए पनि बचाइदिनुस् ।’ म करिब २० मिनेटसम्म त्यही भुमरीमा घुमिरहेँ जस्तो लाग्छ । कन्टेनर र ग्यास सिलिन्डरसमेत भुमरीमा घुमिरहेका थिए । कहिले कन्टेनरमा ठो’क्किन्थें, कहिले ग्यास सिलिन्डरमा । कहिले शरीरमाथि ढुंगा बजारिन्थ्यो । कुनै बेला होसमा हुन्थें, कुनै बेला बेहोस । अन्ततः भुमरीको गति रोकियो । अर्धचेत अवस्थामा वरिपरि हेर्दा हरियो डाँडा देखेँ । त्यही डाँडातिर लत्रिँदै जाने प्रयास गरें । फेरि अर्को छाल आउला कि, खाल्डोमा परिएला कि भन्ने डर पनि थियो । लत्रिँदै अघि बढ्दा एउटा मानिसको टाउको समाउन पुगेछु । टाउको फुटेका दुई–तीन जना मानिस पनि देखें । आफू कसरी बाँच्ने भन्ने अवस्थामा थिएँ, तर उनीहरूलाई पनि बचाउन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । बाँच्ने आशामा घस्रिँदै पहाड चढ्न थालें । सुरक्षित रहेका दुई जना आफ्ना हराएका आफन्त खोजिरहेका थिए । उनीहरूले मलाई उद्धार गर्लान् कि भन्ने लागेको थियो, तर उनीहरू आफ्नै मान्छे खोज्न व्यस्त थिए । थिलथिलो शरीर लिएर चट्टानी पहाडमा घस्रिँदै थिएँ । केही माथि पुगेपछि हात ठड्याएँ । चिनेका साथी #ओमजोशी ले मलाई देख्नुभयो । मैले ‘म तिलक हुँ’ भनेर परिचय दिएँ । शरीर लेदोले ढाकिएर चिन्नै नसकिने अवस्थामा पुगेको रहेछ । ओमजी आफ्ना भान्जा #राजेन्द्र को खोजीमा हुनुहुँदो रहेछ ।
उहाँले मलाई अलि माथि पुर्‍याउनुभयो । अवस्था झन् कमजोर हुँदै गइरहेको थियो । उहाँले ढुंगाले पाइप फुटाएर पानी खुवाउने प्रयास गर्नुभयो । थोरै पानी आयो र पिएँ । त्यहाँ अर्की एक बहिनी पनि हुनुहुन्थ्यो । उहाँको निधारमा गम्भीर चोट लागेको थियो । उहाँले पनि पानी पिउनुभयो र माथि उक्लिने प्रयास गरिरहनुभएको थियो ।
सरकारले उद्धार गर्ला भन्ने आशामा म अझै माथि घस्रिँदै गएँ । त्यहाँ #विक्रमश्रेष्ठ ले मलाई देख्नुभयो । सुरुका दिनमा सार्वजनिक भएका मेरा धेरै तस्वीर उहाँले नै खिच्नुभएको रहेछ ‌। उहाँले ‘तिलक सर हुनुहुँदो रहेछ’ भन्दै दौडेर आउनुभयो र मलाई एउटा घरसम्म पुर्‍याउनुभयो ‌। तल्लो भागको कपडाबाहेक शरीरमा छोप्ने केही थिएन । लेदोले गर्दा अरूले मलाई चिन्नै नसक्ने अवस्था थियो ‌। विक्रमजीले शरीर पखालिदिनुभयो ‌। शरीरभरि चोटैचोट भएकाले असह्य पीडा भइरहेको थियो ‌। शरीर पखालेपछि झन् बेहोस जस्तो भएँ र थरथर काँप्न थालें। कसैले कपडा लगाइदिनुभयो ‌। त्यो भूगोल हेर्दा यस्तो घाइते अवस्थामा म त्यति माथि कसरी पुगें होला भनेर सबैलाई अचम्म लागेको थियो । बाँच्ने आश हुँदा मानिसमा हिम्मत पनि आउने रहेछ । भुमरीबाट उम्किएँ भने बाँच्न सक्छु भन्ने पहिलो आश थियो । त्यसपछि हेलिकप्टर आयो भने बाँच्न सकिन्छ भन्ने अर्को आश पलायो । तर मौसमले साथ दिइरहेको थिएन । घाम लागेको थिएन । केही समयपछि सेनाको हेलिकप्टरको आवाज सुनियो ‌। तर अवतरण गर्न सकेन । त्यसपछि फेरि अब बाँचिन्न कि भन्ने लाग्यो ‌। उपचारको प्रतीक्षामा छट्पटाएको डेढ घण्टाभन्दा बढी भइसकेको थियो । हेलिकप्टर आएपछि पक्कै बचाउँछ भन्ने आश थियो । बस्न नसक्ने अवस्था भए डोरीले तानेर भए पनि लैजान्छ होला भन्ने लागेको थियो । पछि आएको हेलिकप्टर अवतरण त भयो, तर म बसेको स्थानभन्दा केही तल । त्यहाँ रहेका अन्य घाइतेलाई लिएर हेलिकप्टर उड्यो । म आत्तिएको देखेर विक्रमजीले पहिलो उडानमै पठाउन खोज्नुभएको थियो, तर त्यो सम्भव भएन । त्यसपछि मेरो अवस्था झन् गम्भीर हुँदै गयो । म बसेको माथिल्लो स्थानमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन । त्यसैले फेरि तल झर्नुपर्ने भयो ‌। तर मलाई बोकेर झार्न सक्ने अवस्था पनि थिएन । शरीरको बाहिरी भागमा चोट नलागेको ठाउँ नै थिएन । दुई जना साथीको सहयोगमा बल्लतल्ल हेलिकप्टर अवतरण गर्न सक्ने ठाउँसम्म झरें । शरीर पखालिएपछि दु:खाई झन् बढेको थियो । यहाँसम्म त आफ्नै संघर्षले बाँचेर आएको थिएँ । अब सरकारले बचाइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो । केही समयपछि हेलिकप्टर आयो । उपचारको प्रतीक्षामा रहेका घाइतेहरू आक्रोशित थिए ‌। त्यहाँ टाउकोमा गम्भीर चोट लागेका एक जना घाइते थिए ‌। हेलिकप्टर कुर्दाकुर्दै उनको मृत्यु भयो । त्यसपछि त्यहाँ रुवाबासी चल्यो । एकातिर मानिसको मृत्यु भइरहेको दृश्य देख्नुपरेको थियो, अर्कोतर्फ मेरो अवस्था झन् जटिल बन्दै गइरहेको थियो । सुर्खेतमा होटल चलाउने #कमल र अर्का एक जना #सञ्चित ले मलाई समातेर राख्नुभएको थियो । कमलका आफ्नै बुबा र बहिनीसमेत बाढीपछि सम्पर्कविहीन हुनुहुन्थ्यो । तर उहाँले आफ्नै पीडा बिर्सेर मेरो रेखदेख गरिरहनुभएको थियो । केही समयपछि हेलिकप्टर आयो । हेलिकप्टर चढेपछि म बेहोस भएँ । सिधै काठमाडौं लगेर उपचार गरिन्छ होला भन्ने लागेको थियो । तर मलाई नुवाकोटस्थित सेनाको क्याम्पमा झारिएको रहेछ । अर्धचेत अवस्थामा नुवाकोट ल्याइएको थाहा पाएँ ‌। गम्भीर घाइतेलाई तत्काल अस्पताल पठाउने विषयमा कुराकानी भइरहेको थियो । केही चेत आएपछि सेनाका व्यक्तिले ‘आफन्तको नम्बर भन्न सक्नुहुन्छ ?’ भनेर सोध्नुभयो । मैले #श्रीमती को नम्बर दिएँ, तर फोन अफ रहेछ । दाई #तोरणपराजुली को नम्बर दिएँ, फोन लागेन । त्यसपछि बाल्यकालदेखिको साथी #युवराज को नम्बर सम्झिएँ । उहाँको नम्बरमा सम्पर्क भयो । आफू जीवित रहेको खबर सकेसम्म छिटो घरमा पुर्‍याउन चाहन्थें ।
युवराजका एक जना साथी तत्काल #चक्रदेव अस्पताल आउनुभयो । बाढीग्रस्त क्षेत्रमा हेलिकप्टर उडाउनुपर्ने भएकाले प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं पठाउने जानकारी दिइयो ।
एम्बुलेन्समा राखेर काठमाडौं ल्याइयो । सुरुमा अस्पताल नै ल्याइएको होला भन्ने लागेको थियो । केही समयपछि आफू नर्भिक अस्पतालमा रहेको थाहा पाएँ । बुधबार दिउँसो करिब ४ बजेतिर अस्पताल आइपुगेको रहेछु । वरिपरिका केही कुरा थाहा हुन्थ्यो, केही भने बिल्कुलै थाहा हुँदैनथ्यो । उद्धार गरेर ल्याइएकै दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वास्थ्य अवस्था बुझ्न आउनुभएको थियो । उहाँसँग अलिअलि बोले जस्तो लाग्छ । भन्सार विभागका महानिर्देशक पनि आउनुभएको थियो । मलाई आईसीयूमा भर्ना गरियो । भोलिपल्ट बिहीबारदेखि स्वास्थ्यमा केही सुधार आयो ।
डाक्टरहरूका अनुसार शरीरको भित्री भागमा ठूलो समस्या देखिएको छैन । दायाँ करङ भाँ’चिएको छ भने शरीरभरि बाहिरी चोट छन् । मस्तिष्कमा कुनै असर परेको छैन । भाँ’चिएको करङ पूर्ववत् हुन केही समय लाग्ने भए पनि निको हुने चिकित्सकहरूले बताएका छन् ।

#NepalFlood #rasuwa_update #kathmandu #Janakpur #avalanche #BhoteKoshi

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*