सुशासन, समृद्धि, समानता र स्वाभिमानको लागि “कौशल कुमार सिंह”

देशले परिवर्तन खोजेको छ ।
परिवर्तन यस्तो कि जसमा नेपाल र नेपालीको मौलिकता, पहिचान र आत्मसम्मान वृद्धि होस् ।

देशले समृद्धि खोजेको छ ।
समृद्धि यस्तो कि उत्पादनशीलता र आत्मनिर्भरता वृद्धि होस्, देश भित्र रचनात्मक काम गर्ने सहज वातावरण र नवप्रवर्तनको सम्भावना होस् ।

देशले सुशासन खोजेको छ ।
सुशासन यस्तो कि भ्रष्टाचारमुक्त मौलिक स्वदेशी राज्य व्यवस्था कायम होस्, विदेशी आयातित मोडल होइन, मौलिक स्वदेशी जनसहभागितामूलक शासन पद्धतिबाट राज्य संचालन होस् ।

देशले समानता खोजेको छ ।
समानता यस्तो कि देशका पिछ्डावर्ग, दलित, आदिवासी जनजाति लगायत लगायत सबै सिमान्तकृत वर्ग समुदायले समेत राज्य संचालनमा समेत समानुपातिक अवसर पाउन्, सबैले राज्यमा आफ्नोपन देख्न सकुन्, सबैले समग्र राज्यको अपनत्व लिन सकुन् ।

सुशासन, समृद्धि, समानता र आत्मसम्मानका लागि विगत दुई दशक भन्दा बढी समयदेखि राष्ट्रिय स्तरमा संघर्ष गर्दै आइरहेका एक अथक योद्धा, स्वच्छ र इमान्दार छविका एक उर्जावान, नैतिकवान एवम् भिजनरी नेता, राष्ट्रिय पिछ्डावर्ग महासंघका अध्यक्ष तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष, सिरहा निर्वाचन क्षेत्र नं. २ निवासी कौशलकुमार सिंह ज्यू आफ्नै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदको लागि #जाँतो (चकिया) छाप लिएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । म सिरहा क्षेत्र नं. २ का समस्त मतदाताहरूमा अनुरोध गर्न चाहन्छु कि जाँतो छापमा मत दिएर कौशल जी लाई भारी बहुमतका साथ विजयी गराउनुहोस् ।

कौशल कुमार सिंहलाई नै किन जिताउने ?
सिरहा-२ का जनताले यस अघि धेरै उम्मेदवारहरूलाई जिताउनुभयो, त्यसमा कतिपय पाहुना/पर्यटक उम्मेदवार पनि थिए । कतिलाई पार्टीको नाममा जिताउनुभयो भने कतिलाई कसैलाई मुख हेरेर जिताउनुभयो । तर तिनीहरूले जितेर गएपछि संसदमा तपाईंको प्रतिनिधित्व गर्न सकेनन्, तपाईंको उपस्थिति जनाउन सकेनन्, तपाईंका पीडा बोल्न सकेनन् । ति सांसदहरूले कि त आफ्नो पार्टीका नेतालाई प्रधानमन्त्री उपप्रधानमन्त्री बनाउन सघाए कि आफू पनि चाकडी गरेर एक थान मन्त्री पड्काए, राज्यको सुविधा खाए, भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए, आफ्ना आफन्तलाई ठूलो ठूलो पदमा नियुक्ति दिलाए तर समग्र समाजका युवाको भविष्य सुनिश्चित गर्ने न त कुनै नीति निर्माण गरे न त युवाहरूको रोजगारीको लागि कुनै ठोस योजना ल्याए । तिनीहरूको सारा योगदान सरकार बनाउने र ढाल्ने खेलमै सिमित रह्यो ।

कौशल कुमार सिंहले समानता, समानुपातिक अधिकार र स्वाभीमानका लागि जीवन समर्पण गरेका छन् । किसान परिवारका कर्मशील व्यक्तित्व उनि पत्रकारिता र व्यापार व्यवसाय समेतबाट सुखी जीवन बिताउदै देश र समाजको वृहत्तर एवम् दीर्घकालीन हितको लागि राजनीतिलाई एक सामाजिक जिम्मेदारीको रुपमा अङ्गालेका छन् । उनको प्रयासमा (पिछ्डावर्ग महासंघको सिफारिशमा) विगत दुई दशकमा देश भरीका पिछ्डावर्ग समुदायका दशौं हजार युवा विद्यार्थीहरूले प्राविधिक शिक्षाको लागि छात्रवृत्ति पाएका छन्, बीसौं हजार जनताले रोजगारमूलक तालीम प्राप्त गरी स्वरोजगार संचालन गरेका छन्, हजारौं गरीब जनताले औषधियुक्त झूल लगायतका जरुरी सामान पाएका छन्, हजारौं महिलाहरूले सिलाई मसिन पाएर रोजगारी संचालन गर्न सकेका छन्, सयकडौं छात्रछात्राहरू विद्यालय जान साइकल सहयोग पाएका छन् ।

कौशल कुमार सिंहकै प्रयासमा पिछ्डावर्ग ले संविधानमा पहिचान पाएको छ, मौलिक अधिकार शीर्षकमा स्थान पाएको छ, समावेशी आयोग पाएको छ । कृषि बीमा, ३% ब्याजदरमा कृषि ऋण र शिक्षित युवाहरूलाई योग्यता प्रमाणपत्रको आधारमा स्वरोजगार ऋण जुन अहिले लागू भएको छ, ति कुराहरू २०७० को संविधानसभा निर्वाचनकै समयमा कौशल जीको नेतृत्वमा लोक दलले पहिलोपटक आफ्नो घोषणापत्रमा समावेश गरी त्यसका लागि आबाज उठान गरेका विषयहरू हुन् ।

तर अहिले धेरै काम गर्न बाँकी छ । सिरहा क्षेत्र नं. २ को आधुनिक विकास गर्न बाँकी छ, किसानहरूका लागि सिंचाइको दिगो व्यवस्था गर्न बाँकी छ, कृषि ऋण, कृषि बीमाको पहुँच वास्तविक किसानसम्म पुर्‍याउन बाँकी छ, किसानले समयमा मल बीउ पाउने दीगो व्यवस्था गर्न बाँकी छ, कृषि उत्पादको बजारीकरणको स्थायी व्यवस्था गर्न बाँकी छ, युवाहरूको रोजगारी सुनिश्चित गर्न पिछ्डावर्गको क्लस्टर बनाई सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानहरूमा २०% आरक्षणको व्यवस्था गर्न बाँकी छ, पिछ्डावर्ग आयोगको स्थापना गर्न बाँकी छ । यी कार्यहरू अरु नेताले गर्दैन किनकि तिनीहरू आफ्ना पार्टीका गुलाम हुन् र यी कुराहरू तिनको पार्टीको एजेन्डा होइनन् । यी कामहरू गर्नको लागि कौशल कुमार सिंह नै संसदमा जानुपर्छ, जसको लागि कौशल जीलाई तपाईंको साथ, सहयोग र समर्थनको आवश्यकता छ, तपाईंको मत (भोट) को आवश्यकता छ । जाँतो छापमा आफ्नो भोट दिई कौशल जीलाई जिताएर संसदमा पठाउनुस् अनि तपाईंका यी एजेन्डाहरू संसदमा पुग्नेछन् र पूरा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *