सिन्दुर : शृङ्गार, सौभाग्य र स्वास्थ्य

सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान गरेर सिन्दुर शृङ्गार गरी आफ्नो इष्ट देव/देवीको पूजा गर्ने र पति एवम् ठूलाबडाको आशीर्वाद लिने गर्नाले घरमा सुख, शान्ति एवम् सौभाग्य वृद्धि हुन्छ । तर सिन्दुर लाउँदा सामान्य औपचारिकताका लागि अलिकति सिन्दुर लाइदिएर मात्र पूर्ण लाभ प्राप्त हुँदैन । पतिव्रता स्त्रीले नित्य स्नान गरेर शास्त्रोक्त विधीपूर्वक निश्चित मन्त्र उच्चारण गर्दै सिन्दुर लाउनुभयो भने यसले सकारात्मक उर्जामा वृद्धि भई आफ्नो र पतिका साथसाथ सम्पूर्ण परिवारकै जीवनमा सुख शान्तिमा वृद्धि गर्दछ । सिन्दुर सिउँदोमा मात्र होइन, विभिन्न पाँच स्थानमा लाउनुपर्छ । आउनुहोस्, सिन्दुर लाउने सही तरिका र मन्त्र बारे जानकारी लिऔं ।

सिन्दुर एक प्राकृतिक खनिज हो । सनातनकाल देखि नै यसको प्रयोग हुँदै आएको छ । अचेल बजारमा कृत्रिम रसायनयुक्त सिन्दुर पनि पाइन्छ । तपाईं जहिले पनि गुणस्तरीय सिन्दुरको चयन गर्नुहोस् । सस्तो र गुणस्तरहीन सिन्दुरले तपाईंलाई एलर्जी र अन्य रोग समेत हुनसक्छ । जुन सिन्दुरले तपाईंको छालामा नराम्रो असर गर्दैन, त्यस्तै खालको सिन्दुरको प्रयोग नियमित रुपमा गर्ने गर्नुपर्छ ।

सर्वप्रथम नित्य स्नान गरेर सफा र पवित्र वस्त्र धारण गर्नुहोस् । अनि सिन्दुरको पात्र (बट्टा) आफ्नो देब्रे हातको हत्केलामा राखेर खोलनुहोस् । त्यसपछि ऐना सामु उभिएर तल दिइएअनुसारका मन्त्रहरू उच्चारण गर्दै श्रद्धान्वत भइ सिन्दुर लाउनुहोस् ।
१. प्रथमतः “ॐ कृष्णाय नम:” मन्त्र जप्दै सिउँदोमा सिन्दुर लाउनुहोस् ।
२. त्यसपछि “ॐ केशवाय नम:” जप्दै निधारमा टीका लाउनुहोस् ।
३. तेस्रो नम्बरमा “ॐ गोविन्दाय नम:” मन्त्र जप्दै कण्ठमा सिन्दुरको टीका लगाउनुहोस् ।
४. त्यसपछि “ॐ मधुसुदनाय नम:” जप्दै देब्रे हातको नाडी (संख) मा टीका लगाउनुहोस् ।
५. अन्त्यमा “ॐ वासुदेवाय नम:” मन्त्रको जाप गर्दै आफूले लाएको सारी (वस्त्र) मा टीका लाउनुहोस् ।

यसरी नियमित रुपमा पूर्ण शास्त्रोक्त विधिपूर्वक सिन्दुर लाउँदा तीनै लोकका सम्पूर्ण देवी देवताहरूको आशीर्वाद प्राप्त हुन्छ, पतिसँग सम्बन्ध मधुर रहनुका साथै दाम्पत्य जीवनमा मिठास बढ्छ र सुखमय हुन्छ, साथै सकल परिवारमा सकारात्मक विचार, वातावरण र उर्जाको विकास हुन्छ । यसले महिलामा आत्म विश्वास बढ्नुका साथै सुरक्षाभावमा समेत वृद्धि हुन्छ ।

कतै बाहिर जाँदा मात्रै सिन्दुर लाउने होइन, घरमै रहँदा पनि सिन्दुर लाउनुपर्छ, शृङ्गार गरि बस्नुपर्छ, अनि पो घरमा सकारात्मक उर्जा विकास हुन्छ । अरुका लागि मात्र शृङ्गार गर्ने होइन, आफ्नाका लागि पनि शृङ्गार गर्नुपर्छ । जीवन तपाईंले आफ्नो परिवारसँग बिताउनु पर्छ अत: घर परिवार भित्रको वातावरण पनि सकारात्मक हुन त्यतिकै आवश्यक हुन्छ । तर आधुनिक महिलाहरू प्रायः सिन्दुर लाउन चाहदैनन् । सिन्दुर लाउनुलाई अनपढ्,अज्ञानता, पछौटेपन र असभ्यताको रुपमा पनि देख्छन् । किनकि सिन्दुर लाएपछि तपाईं एक विवाहित नारी हो भन्ने प्रष्ट देखिन्छ । कतिपय आधुनिक महिलाहरू आफूलाई विवाहित देखाउन चाहदैनन्, आफूलाई खुला राख्न चाहन्छन् किनकि विवाहित महिला प्रति समाजको नजर, भाव र व्यवहार फरक हुन्छ भने अविवाहित कन्या प्रतिको व्यवहार फरक हुन्छ ।

सिन्दुर एउटा शृङ्गारको साधन अथवा विवाहित नारीको चिन्ह मात्र होइन, यो महिला स्वास्थ्यको लागि पनि निकै महत्त्वपूर्ण औषधि हो । प्राकृतिक चिकित्सक एवम् नाडीचक्रविज्ञहरूका अनुसार हाम्रो शरीरमा विभिन्न स्थानहरूमा विभिन्न आज्ञाचक्रहरू हुन्छन् । ती चक्रहरूले शरीरका विभिन्न प्रणालीहरूलाई नियन्त्रण अथवा प्रभावित गर्ने गर्दछन् । ती चक्रहरू निष्क्रिय भएमा अथवा शरीरका प्रणालीहरूमा असन्तुलन उत्पन्न भएमा विभिन्न प्रकारका रासायनिक एवम् यान्त्रिक असन्तुलन भइ शारीरिक एवं मानसिक समस्याहरू देखिन्छन् । यसको छुट्टै विज्ञान छ र यसको छुट्टैअध्ययन गर्नुपर्छ । यहाँ संक्षेपमा भन्नुपर्दा तपाईं जहाँ जहाँ सिन्दुर लाउनुहुन्छ, सिन्दुरले त्यहाँ त्यहाँका आज्ञाचक्रहरूलाई जागृत गर्दछ जसले गर्दा नारी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । सिन्दुर नारी शृङ्गार र सौभाग्यका साथै स्वास्थ्यका लागि पनि महत्वपूर्ण एवम् उपयोगी तत्व हो । अत: श्रद्धापूर्वक अभिमन्तृत गर्दै सिन्दुर प्रयोग गर्नुहोस् ।

– सि. एन. खड्गा

One thought on “सिन्दुर : शृङ्गार, सौभाग्य र स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *