श्री ५ : नपाएको पगरी गुथाई

पूर्व राजालाई “श्री ५ महाराजाधिराज” लेख्ने बारे मैले ५-७ वर्ष अघि नै प्रश्न गरेको थिएँ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ र गणतान्त्रिक संविधानले कुनै राजा र राजसंस्थाको व्यवस्था गरेको छैन । कोहि जनताले श्रद्धापूर्वक पूर्वराजा वा उनका परिवारलाई पूर्ववत् “श्री ५” भनेर संबोधन गर्नु सामान्य कुरा हो तर पूर्वराजा वा परिवार स्वयंले वा आफ्नो तथाकथित संवाद सचिवालयको तर्फबाट “श्री ५ महाराजाधिराज” भनेर सन्देश जारी गर्नु असंवैधानिक कार्य हो । यस्तो नपाएको पगरी गुथ्नु दण्डनीय हुनसक्छ ।

त्यतिखेर मेरा केही निकटतम् तर राजाभक्त मित्रहरूसंग मेरो बहस पनि भएको थियो । तर पूर्वराजाका सहयोगी डा. फणीराज पाठकलाई पूर्ववत् “प्रमुख संवाद सचिवालय” को भुतले छोडेन र तिनले ज्ञानेन्द्र शाह ज्यूलाई जबर्जस्ती “श्री ५” बनाइ राखे । हरेक वर्ष फागुन ७ गतेको प्रजातन्त्र दिवस होस् कि पृथ्वी जयन्ती होस् अथवा दशैं तिहारको अवसरमा श्री ५ महाराजाधिराज र प्रमुख संवाद सचिवालयको भुत जागिहाल्ने गर्थ्यो, पुरानो त्यो शाही छनक देखाइ हाल्थ्यो । गत वर्ष माघ फागुनमा त राजा फर्काउने आन्दोलन नै चल्यो । चम्चा बेल्चाहरूको हुजुम देखेर ज्ञानेन्द्र जी आफै पनि थोरै हौसिएका थिए । डा. पाठकबाट पटापट संदेशहरू जारी हुन थाल्यो । अति नै भएपछि यस माथी राज्यको ध्यानाकर्षण हुनु स्वाभाविक नै देखियो । गत साता तिनै पाठकलाई सरकारले तलब गरेर यस बारे सोधपुछ गरेपछि उनी निरुत्तर भए । पूर्व राजालाई “श्री ५” को पगरी गुथी राख्नुपर्ने कुनै वैधानिक तर्क उनीसँग थिएन । मूर्खतापूर्ण ढिपी गर्नु डाक्टर साहबलाई शोभा दिने कुरो भएन । अनि पाठक जीले आइन्दा “श्री ५” नलेख्ने कागज गरि रिहा भएछन् ।

यस विषयमा अझै पनि केही भक्तहरूले ढिपी गर्न छोडेका छैनन् । राजा पूर्व हुँदैन रे, एकपटकको राजा सधैंको राजा आदि इत्यादि मूर्खतापूर्ण कुराहरू गरिरहेका देखिन्छन् । यी व्यक्तिहरू मध्ये कतिपय हिजोको गणतान्त्रिक आन्दोलनमा पनि लागेका थिए, गणतन्त्र आएपछि राजनीतिक लाभ लिन दलीय राजनीतिमा पनि लागे, दल पनि खोले, निर्वाचनमा भाग पनि लिए । तर पराजित भएपछि, सांसद मन्त्री बन्न नसकेपछि वा सत्ता सुख भोव्न असफल भएपछि अहिले गणतन्त्रको बिरोधमा उत्रिएका छन्, पूर्वराजालाई उक्साइ उक्साई राजा फर्काउने आन्दोलन गरिरहेका छन् । बिग्रेको एकमात्र छोराको हर्कतबाट बिरक्तिएर एकान्तमा आनन्दपूर्वक जीवनको उत्तरार्ध वानप्रस्थ समय बिताइरहेका पूर्वराजाको मनमा पुनः सत्तामोह जगाएर देशमा पुनः अस्थिरता उत्पन्न गर्ने र परिस्थितिको लाभ उठाउने कुचेष्टा गर्ने यस्ता अस्थिरतावादी अवसरवादीहरूलाई सबैले चिन्नुपर्छ ।

यो सही हो कि गणतन्त्र आएर शासनमा गुणात्मक सुधार भएन, भ्रष्टाचार बढ्यो । तर यसको तात्पर्य गणतन्त्र खराब भन्ने होइन । गणतन्त्र सर्बोत्तम व्यवस्था हो । केही बाँकी छ भ्ने त्यो हो इमान्दारिता । हामी सबै इमान्दार होऔं । सबै ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *